जब म पाँच बर्षको थिए। बा’ले एकदिन एउटा फोटो देखाउदै सोधेको संझना छ। चिनिस ? नाई ! चिनिन् त ! मैले मन्टो हल्लाएको थिए। बा’ले ढाडमा हात राख्दै भन्नुभयो- ठुला मान्छे हुन। तँ पनि पछि गएर ठुलो मान्छे बन्नुपर्छ। बन्छस नि ? बन्छु। ठुलो मान्छे बन्न क्यार्न पर्छ? मैले सोधेँ। धेरै पढ्न पर्छ। पढ्छस ? पढ्छु। जब म दश बर्षको भए। स्कुलमा सर’ले पनि बा’ले देखएको जस्तै फोटो देखाउनुभयो। र सोध्नुभयो। चिनिस ? नाई ! चिनिन। मैले मन्टो हल्लाएँ। ठुला-खत्रा, बिद्वान हुन। पछि गएर त पनि ठुलो बिद्वान बन्नुपर्छ। बन्छस नि ? बन्छु। ठुलो बिद्वान बन्न के- के गर्न पर्छ। धेरै पढ्न पर्छ। पढछस ? पढ्छु। जब म पन्ध्र बर्षको भए। साथिले पनि उस्तै किसिमको फोटो देखाए। र भन्यो। चिनिस ? नाई ! चिन्या छैन नि ! कसको फोटो मैले सोधेँ। फिल्मको हिरो क्या त ! तँ पनि ठुलो भएर हिरो बन्नपर्छ है। बन्छस् नि ? बन्छु। के-के गर्नुपर्छ ? डान्स,फाइट ...सिक्नपर्छ। कपाल पाल्न पर्छ। डान्स र फाइट त सिक्छु। तर कपाल पाल्न त आमाले दिनुहुन्न। नपाले हुन्न ? समय बित्दै गयो। क्यालेन्डरका पन्नाहरु पल्टिदै गए। अनेकन मान्छे- सम्बन्ध भेटिए। सबैले हातहातमा फोटो बोकेका थिए। सबैले उसै गरि सोध्थे। चिनिस ? कुनै कुनैलाई चिन्थे। कुनै कुनैलाई चिन्न सक्दिनथे। कसरि पो चिन्नु र ! पहिलोपटक देखेको हुन्थे। ….विश्वबिधालयले संभावनाका इट्टाहरुको फोटो देखायो। पखेँटा र आकाशको पनि देखायो। आकाशबाट देख्न सकिने दृश्यहरुको फोटोले जोडजोडले तान्यो। घरले भत्किने तर्खर गरेका घरका भित्ताहरुको फोटो देखायो।दाजुभाइले घरको साँघुरो आगनको फोटो देखाएँ। आमैँले मुजा परेका गाला र गल्दै गरेका हात खुट्टाको फोटो देखाइन। बहिनिले सुन्दर ड्रेस लागाएका आफ्नि सथिहरुको फोटो देखाइ। सपनाको दरबारकि महारानिले सिन्दुरको मुल्य सुचिको फोटो देखाइन। .. समयक्रममा सबै सबैले फोटो देखाएँ। कसैले आबश्यक्ताको देखाएँ। कसैले अधिकारको देखाएँ। कसैले रहरको देखाएँ। कसैले चाहानाको, कसैले बाध्यताको देखाएँ। कसैले हैसियत-औकातको देखाएँ। कसैले झुपडिको देखाएँ। कसैले महलको देखाएँ। कसैले बिधालयको देखाएँ। कसैले मदिरालयको देखाएँ। कसैले बेश्यालयको पनि देखाएँ। समयक्रममा सबै सबैले फोटो देखाएँ। फोटो देखाउने तमाम मान्छे- सम्बन्ध प्रति कृतज्ञ छु। तर यदाकदा यस्तो लाग्छ, लागिरहन्छ कि कसैले ऐना पनि देखाइदिएको भए ? .....तपाइँलाई यस्तो ख्याल आउन्छ, कि आउँदैन ?